बीमा भनेको के हो ?

बीमा (insurance) भनेको आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चिता हो । बीमा गर्दा बीमा गर्ने व्यक्ति (बिमित) र बीमा गरिदिने व्यक्ति (बीमक) बीच लिखित सम्झौता हुन्छ । त्यहि सम्झौताका आधारमा बीमा कम्पनीले नोक्सानी बराबरको क्षतिपूर्ति रकम दिन्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । कतिखेर कसलाई के हुन्छ, कसैलाई थाहा हुँदैन । त्यसैले भोलिका दिनमा हुनसक्ने जोखिमको न्यूनीकरण गर्न तथा भविष्यमा हुने जोखिम अरूलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानुनी विधि वा बीमा कम्पनीसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो । बीमा सरकारी ऐन अनुसार स्थापना भई नियामक निकायको रेखदेखमा सञ्चालन हुने तथा विदेशी ठूला कम्पनीसँग पुनर्बीमा हुने हुँदा बीमा कम्पनी कसैको पैसा लिएर भाग्न सक्दैनन् । यी कम्पनीहरू आधिकारिक, भरपर्दो र विश्वासीलो मानिन्छन् । ‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो । जसको अर्थ हुन्छ– ‘जिम्मेवारी लिनु ।’ त्यसैले विश्लेषकहरूले बीमालाई ‘जोखिम हस्तान्तरण’ को रूपमा पनि लिने गरेका छन् ।