प्रधानमन्त्री दाहालद्वारा सुनकोशी बहुउद्देश्यीय आयोजनाको सुरूङ मार्गको ‘ब्रेक थ्रु’

काठमाडौं । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बुधबार सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार सोही आयोजनाको सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुनकोशी मरिन आयोजना रुपान्तरणकारी आयोजना भएको बताउनुभयो ।

उहाँले यस्ता आयोजनाहरु निर्माण सम्पन्न हुँदा राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सोही आयोजना कार्यान्वयनसँगै मुलुकको उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आयोजनाको सुरुङ मार्गको ब्रेक थु्र हुँदा सबैलाई ऊर्जा मिलेको बताउनुभएको छ । उहाँले सुनकोशी आयोजनाको सुरुङ ब्रेक थ्रुले ठूला पूर्वाधार निर्माणमा नयाँ ऊर्जा र उत्साह थपेको दावी गर्नुभयो । दृढसंकल्पका साथ अगाडि बढ्दा चुनौतीपूर्ण भएपनि आयोजनाहरु सम्पन्न गर्न सकिने उदाहरण प्रस्तुत गरेर सोही आयोजनाले सबैमा आत्मविश्वास बढाएको उहाँले बताउनुभएको छ ।

सोही कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सम्झौता भएको १९ महिनामा सुरुङ मार्ग निर्माणको कार्यले नेपालका पूर्वाधार निर्माण विकासका बहुआयामहरुलाई उद्घाटित गरेको बताउनुभयो । पूर्वाधार निर्माणको क्षेत्रमा सुनकोशी आयोजनाको सुरुङ मार्ग महत्वपूर्ण आयाम बन्न पुगेको पनि उहाँको भनाइ छ ।

सोही आयोजनाले सुनकोशी नदीको पानीलाई १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिंचाई आयोजनामा पुर्याउने छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका ४५ हजार ६ सय हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने आयोजनाको प्रमुख उद्देश्य रहेको हो ।

करिब ४६ अर्ब लागतको यस आयोजनाको निर्माणको काम सम्पन्न हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *